वागमती शोक

राजनीतिज्ञ, कवि र कलाकारहरुको निधनमा प्राय ‘एउटा युगको अन्त्य भएको’ भन्ने गरिएको सुनिन्छ । तर यी पंक्ति लेखिरहँदा अपरिचित तर सामान्य भगवानदाशको मृत्युमा त्यस्तै केही शब्द/विशेषण खोजिरहेछु । तर भेट्टाउनै मुश्किल । किनकी, उनीजस्ता मान्छे उनीमात्र थिए ।

काठमाडौंको एउटा विशिष्टता हो वागमती । तर वागमती धेरैको शब्दमा ढलमती भइसेकको छ । आस्था र पवित्रताको जलप्रवाह वागमतीलाई जति कुरुप बनाइएको (थियो) छ, त्यही वागमतीलाई नै जीवन बनाएका भगवानदाश मानन्धर कर्म र चेतनाले त्यति नै सुन्दर थिए । तर आज त्यो सुन्दर कर्मको सिलसिला टुटेको छ । हो, उनी अब हामीमाझ रहेनन् । उनको कर्म यतिबेला सम्झनामा सघन भइरहेको छ श्रद्धासाथ । वागमती पनि फोहोरबीच सुँक्कसुँक्क रुँदै होला ।

वागमती हाम्रो समय र समाजको तस्विर हो जहाँ हाम्रो गौरवपूर्ण विगत र घिनलाग्दो वर्तमान छ । तर सुन्दर, स्वच्छ, स्वस्थ र सभ्य भविष्यका लागि हामीले पनि भगवानदाशले जसरी कर्म गर्नुपर्छ, घिनलाग्दो वर्तमानविरुद्ध निरन्तर । भगवानदास यतिबेला त्यही वागमतीमा लीन भइसके । तर उनले जीवनभर फोहोर वागमतीलाई सफाई यात्राको मैदान बनाए । फोहोरैफोहोर अनि दुर्गन्धैदुर्गन्धबीच उनी सफाई सभ्यताकेा एउटा सुन्दर चेतना थिए । वागमती सफा गर्नु उनको एउटै मात्र दिनचर्या थियो । दुर्गन्ध र फोहोरविरुद्ध प्रकृति र पवित्रताको पक्षमा उनी एकजनाको प्रयास परिमाणात्मक रुपले नगन्य नै थियो । तर त्यो एउटा विशाल प्रतिक थियो चेतना र सभ्यताको । उनी वागमतीको फोहोरमा घाम उदाउँदादेखि अस्पताउँदासम्म व्यस्त रहन्थे । एउटा अचम्मको नमुना वागमती प्रेम ।

थापाथलीदेखि कुपण्डोल आउँदा बीचमा पर्ने बागमती पुलको बाटो हुँदै हिड्दा यतिविघ्न दुर्गन्ध नाकमा ठोकिन्छ कि सासै नफेरी छिटोछिटो त्यो पुल काट्न मन लाग्छ । तर हामीले बागमतीको त्यो दूगृन्धविरुद्ध के गर् यौं ? नाक थुन्नु वा एक छिन सास नफेर्नुबाहेक हामीले वागमतीका लागि के गर् यौं ? यी र यस्तै प्रश्नको उत्तर व्यवहारबाटै दिने अनि नाम जस्तै कर्म गर्ने उनी भगवानदास थिए । राजनीतिज्ञ, कवि र कलाकारहरुको निधनमा प्राय ‘एउटा युगको अन्त्य भएको’ भन्ने गरिएको सुनिन्छ । तर यी पंक्ति लेखिरहँदा अपरिचित तर सामान्य भगवानदाशको मृत्युमा त्यस्तै केही शब्द/विशेषण खोजिरहेछु । तर भेट्टाउनै मुश्किल । किनकी, उनीजस्ता मान्छे उनीमात्र थिए ।

टेलिभिजनमा कहिलेकािहं भगवानदास र उनको कर्म देख्दा एक्कासी मनमा तर्कना उठ्थ्यो, ‘कस्तोखालको मान्छे रहेछ ?’ तर उनी साच्चै कृत्रिम मान्छेहरुको भीडमा वास्तविक मान्छे थिए । वागमती उनको परिचय थियो । उनी वागमतीका ‘बा’ थिए । उनी वागमतीका ‘दास’ थिए । वागमती उनको संस्कार थियो, जीवनपद्धति थियो । पत्रकारिता जीवनमा केही मान्छेलाई प्रत्यक्ष नभेट्दाको खल्लोपन फेरि एकपटक महशुस भएको छ । भगवानदासलाई उनको जीवनकालमा नभेट्दा यतिबेला लागिरहेछ, ‘धेरै चीज गुमाएछु ।’ उनी एउटा व्यक्ति थिए तर उनी त्यति मात्र थिएनन् । उनी प्रकृति र पवित्रताका प्रतिक थिए मान्छेका रुपमा । वागमती विकृत भइरहँदा त्यो विकृतिविरुद्ध भगवानदास लडिरहे लडिरहे । यस्तो सुन्दर लडाई लड्ने उनी सामान्य भेषका असामान्य मान्छे थिए ।

जसले बागमतीलाई आफ्नो िसंगो जीवन दियो त्यो मान्छे भगवानदास ८६ वर्षको उमेरमा वागमतीमै लीन भयो । अब वागमतीले आफैभित्र सदाका लागि भगवानदासलाई मृत्युरुपमा स्वीकारेपछि वागमती सफा गर्ने त्यो जीवित भगवानदास वागमतीले भेटाउने छैन । जतिसुकै अपहेलित पीडित र दुर्गन्धित भए पनि वागमतीलाई हृदयदेखि नै, व्यवहारबाट नै माया गर्ने स्याहार्ने भगवानदास नहुँदा वागमती स्वयम् सबैभन्दा बढी दुखी होला ।

फोहोर वागमतीको पवित्रतालाई टल्काउने सतत् प्रयास भगवानदासको जीवनको लक्ष्य थियो दैनिकी थियो । त्यो दैनिकी सदाका लागि रोकिएको छ यतिबेला । भगवानदासको अवसानमा बागमती शोकमा छ । हामीलाई त्यो शोकले कति छुन्छ अलिकति पनि छुन्छ भने वागमतीलाई अब यस्तो व्यवहार हामीले गर्ने छैनौं । वागमतीलाई हाम्रो सारा फोहोरको केन्द्र बनाउने छैनौं । तर हामी कति मूर्ख थियौं र छौं ! वागमती हाम्रो शहरको अंगअंगमा छ । तर त्यसैलाई फोहोरी बनाएर हामी घरका भित्ताहरुमा सफा नदीको पेन्टिङ झुण्डयाउँछौं । त्यति भएपछि हामीलाई किन वागमति चाहियो ?

बुढापाकाले भन्ने गरेको वागमतीको स्वच्छता हामीले देख्न पाएनौं छुन र सुघ्न पाएनौं । तर भगवानदास त्यही पुस्ताको मानिस थिए जो सायद वागमतीको पानी खाएर हुर्के । तिनलाई कति पीडा हुन्थ्यो होला, वागमतीको फोहोरी/दुर्गन्धित रुप देख्दा । त्यसैले उनले जीवन नै वागमती सफाइ अभियानमा दर्ता गरिदिए । आज भगवानदासको मृत्यु सन्दर्भमा अरु धेरै भगवानदासको जन्म आवश्यक छ रक्तवीजजस्तो । त्यसपछि सायद वागमती सफा हुनेछ ।

वागमतीले प्रकृतिमाथि मानिसको व्यवहार र त्यसबाट उत्पन्न परिस्थितिको मात्र चित्र प्रकट गर्दैन हाम्रो विकृत वर्तमानको अध्यारो पक्ष पनि उद्घाटित गर्छ । तर शहरको वागमती सफा गर्ने एक जना भगवानदास थिए । वागमतीमा त्यसकारण अलिकति भए पनि आशावाद वीवित थियो होला । तर अहिले नेपाली राजनीतिमा जस्तै शहरको वागमतीमा कोही भगवानदास बाँकी रहेनन् । राजनीतिझैं अब बागमती थप फोहोरी हुनेछ । फोहोरी मात्र हुने छैन अपूर्ण पनि हुनेछ । वामगती परिचयको छुट्टाउनै नमिल्ने अंग बनिसकेका थिए भगवानदास ।

कल्पन्छु भगवानदासको सपना र कर्म अब सबै शहरवासीको कर्म र सपना बनिदिए कति राम्रो हुन्थ्यो । राजनीतिको फोहोरलाई सफा गर्ने भगवानदासहरु पनि जन्मिदिए झन् कति राम्रो हुन्थ्यो ।

Author Ashok Silwal. Previously published at Upatyaka.com on May18.Shared with permission.

1 thought on “वागमती शोक

Leave a comment