मेरो कथा र विकल्पको कार्यदिशा

गरिब परिवारबाट आएका बिद्यार्थी आर्थिक सम्वृद्धि कै लागि प्राबिधिक बिषय रोज्न बाध्य हुन्छन्। उनीहरुको सपना डाक्टर इन्जिनियर बन्ने भन्दा माथि उठ्न सक्दैन। बाबुआमाको सपना त हुन्छ नै, छोराछोरीहरु पनि त्यसमै समाहित हुन विवश हुन्छन् किनकि हाम्रो देशमा बिकसित मुलुकमा जस्तो राज्यले बिद्यार्थीलाई अध्ययनका लागि ऋण दिदैन र अभिभावककै आर्थिक संरक्षणमा आफ्नो निजी सपना कुण्ठित गर्न बाध्य हुन्छन्।

कमजोर आर्थिक पृष्ठभूमिबाट आएको यो पंक्तिकार कुनै समय पुल्चोक, महाराजगंज र शिक्षा मन्त्रालयको प्रवेश परीक्षा दिंदा दिंदा हैरान भएको थियो । विकल्पको बाटो खोज्दा खोज्दै थकित यो पंक्तिकारले अन्त्यमा स्वीडेनमा शरण पाएको थियो। स्वीडेनसम्म पुग्ने हवाई टिकट जुटाउन समेत कति हम्मेहम्मे परेको थियो , त्यसको बेग्लै कथा छ। सायद त्यतिखेर डाक्टरी वा इन्जिनीरिंगमा नाम निस्किएको भए देशको लागि यति धेरै सोच्ने फुर्सद नै हुदैन थियो होला, आफ्नो आर्थिक भबिस्यको लागि म ल्याबमा घन्टौं घोत्लिरहेको हुन्थे होला, मोटा मोटा किताबहरुका सिद्धान्त, शुत्र र अभ्यासमै आफ्नो अधिकांस समय बिताइरहेको हुन्थे होला, अनि राष्ट्रिय र विश्व राजनीतिमा भैरहेको उथलपुथलबाट बेखबर नै हुन्थे होला।

अरुको कथा लेख्नमै अधिकांस समय खर्चने यो पंक्तिकार आज आफ्नै कथा लेख्दा अति नै भाब विह्वल महसुस गरिरहेको छ। आफ्नै कहालीलाग्दो अतीत सम्झेर आफै तर्सिने गर्छु कहिले काँही तर मन बुझाउने गर्छु आफ्नो सपनालाई अगाडि राखेर, आशाबादी हुने गर्छु आफ्ना योजनाहरु लाई साक्षी राखेर। कम्प्युटर भन्ने बस्तु मैले एसएलसी पास गरुन्जेल सम्म छुन र चलाउन पाएको थिइन, इन्टरनेटको त कुरै छोडौ। कक्षा १२ सम्म मसंग मोबाइल थिएन, चलाउन पनि पाएको थिइन। अहिले आइफोंनमा पास्चात्य संगीत सुन्दै म्याक्बुक यअर बाट यो सब लेखिरहदा मलाई लगातार १२ घण्टा उभियर कोपेनहेगनको एउटा रेस्टुरेन्टमा अनबरत भाडा माझिरहेको याद आइरहेको छ। ६० % भन्दा बढी नेपाली जनता $२ प्रति दिन भन्दा कममा बाँचिरहेको सम्झिदा $२२ प्रति घण्टाको कमाईले कुनै सुन्दरता दिदैन थियो। रेस्टुरेन्टमा जम्मा भएको फोहोरको डङ्गुर लिएर फाल्न जाँदा म काठमाण्डूमा फोहोरमा खेलिरहेका सडक बालबालिकालाई सम्झिरहेको हुन्थे र निरन्तर कर्तब्यबोध गराईरहेको हुन्थ्यो। गरिब देशबाट आएको भनेर कसैले होच्याएर बोल्दा रास्ट्रियताको भाब उर्लिएर आउथ्यो अनि आफ्ना अक्षम नेताहरुप्रति घृणाको भाब जागेर आउथ्यो।

नेपालको अधिकांस जनता गरिब तर ती गरिब जनताका अधिकाम्स सन्तान प्राबिधिक शिक्षातर्फ हानिएपछि देशको प्रशासनिक, आर्थिक, सामाजिक र राजनीतिक संयन्त्र कसले सम्हाल्ने? ती गरिबहरुका कथा कसले लेखिदिने, उनीहरुका बेदनाको सम्बोधन कसले गरिदिने, उनीहरु अनुकुल योजना कसले निर्माण गरिदिने? समस्या जस्ताको तस्तै रहने छ जब सम्म नेपालको ठुलो हिस्सा बिपन्न समुदायबाट नै कुनै आवाज उठ्दैन। त्यसैले रास्ट्रको समानुपातिक उन्नतिका लागि देशको झन्डै ९०% बालबालिका भर्ना हुने सरकारी  र सामुदायिक बिद्यालयमा विकल्प अभियानको पहुँच हुनुपर्छ भन्ने मेरो अटूट मान्यता हो। आगामी २० बर्षको नेपालको भबिस्य बनाउनु छ भने विकल्प अभियानको प्रारम्भिक एजेन्डा बिद्यालय स्तर देखि सुरु हुनु पर्छ , सहर देखि हैन अधिकांस नेपाली जनता बस्ने ग्रामिण भेग देखि हुनुपर्छ।

लेखक गरिबी, असमानता र आर्थिक उन्नति बिषयमा स्नातक गर्दैछन्

Biplav Pradhan is a student at Lund University, Sweden. This post first appeared at his blog on April 13, 2011. Used with permission.

Leave a comment