दिउँसै सुत्ने सहर

अशोक सिलवाल , May 24, 2011

विरोध विज्ञानमा अन्तिम अस्त्रको रुपमा लिइने ‘बन्द’ हाम्रो जीवनशैली भइसकेको छ । घरबाट बाहिर निक्लिनुअघि श्रीमतीको कानमा श्रीमान्को प्रश्न ठोकिन्छ, ‘आज बन्द छ कि छैन, हँ ?’ हरेक दिन घरबाट निक्लनुअघि ‘आज बन्द हो कि होइन ?’ भनेर सोध्नु सामान्य प्रश्न बनिसकेको छ । तर बन्दका आयोजक को छन् ? किन बन्द गरे तिनले ? कति दिनको बन्द छ ? यी र यस्ता प्रश्नको जवाफप्रति रुचिशून्यता र बन्दप्रतिको निरस चासोले जब जीवन र दैनिकीलाई निर्देशित गर्छ तब ‘नयाँ नेपाल’को सपनाले हामीलाई गिज्याउँछ मात्र । अहिले हामी त्यही लज्जित अवस्थामा छौं । यो लाजले जितेको समय हो ।

उपत्यका बन्द बेहोर्दै आइतबार कार्यालय आइपुग्दा वातावरणीय दृष्टिले सडक सुन्दर देखिन्थ्यो । हावा पनि मीठो थियो । आँखाभरि काठमाडौंका सडक नाप्दै हिँड्नुको मजै बेग्लै छ । तर के यसरी देश चल्छ ? के यसरी संविधान बन्छ ? के यसरी शान्ति प्रकि्रयाको तार्किक निष्कर्ष सम्भव छ ? अरु थुप्रै यस्ता प्रश्न छन् । यस्तो अवस्थामा हो, ‘बन्द’लाई प्रभावकारी दबाब मान्न सकिएला । तर त्यसले पार्ने बहुआयामिक कुप्रभावको हिसाबकिताब कसले राखेको छ ? खुला समाजको कुरा गरिरहँदा ‘बन्द’ हाम्रो जीवनशैली बन्छ भने योभन्दा ठूलो लज्जाको विषय अरु के हुन सक्ला ? ‘बन्द’ जब सहरको नियमितता हुन्छ तब सहर विस्तारै रुपमा शान्त तर सारमा आक्रोशको साम्राज्य हुन जान्छ । वर्षौंदेखिको यो ‘बन्द’ प्रजातन्त्र, लेाकतन्त्र र गणतन्त्रले दिएको कुरुप उपहार हो जसले जनतामा राजनीतिक व्यवस्थाप्रति मात्र होइन राजनीतिप्रति नै निराशा र घृणा विस्तार गर्दै छ । यो डरलाग्दो मनस्थितिले जनजीवनमा मात्र होइन मुलुकको छविमा पनि कालो पोत्नेछ । पोतिरहेको छ ।

हामी बन्दको विषयलाई समाचार बनाउँछौं । र, सुनसान सडकमा बल खेलिरहेका बालबालिकाको तस्बिर छाप्छौं । ‘बन्द’मा बदाम बेच्नेहरुको लोभलाग्दो आम्दानी भएको प्रसंग पनि लेख्छौं । समाचारीय आँखाले हेर्दा त्यो कदम स्वाभाविक पनि हो । सुनसान सडकको पैदल नाप लिँदै भनौंला पनि, ‘यस्तो बन्द बेला-बेलामा भइदिए काठमाडौंको वातावरण राम्रो हुने थियो ।’ यी र यस्ता थुपै्र सकारात्मक उदाहरण पेस गर्न सकिन्छ बन्दका सन्दर्भमा । तर के यो भनेको बिजुली बत्ती निभाएर टुकी बालेजस्तै होइन र ? समाज र समाजको सम्पूर्ण गतिशीलता बन्द हुँदा पनि केही अपवाद प्रसंगमा रमाउनुले हामी अध्याँरोबीच टुक्रे उज्यालो खोज्ने ‘विचरा पात्र’ भइसकेका छौं भन्ने पुष्टि हुँदैन र ? दया लाग्छ आफैंप्रति, आफ्नो समय र समाजप्रति । तर यो हाम्रो यथार्थ हो । कालो पोतिएको जनजीवनको तस्बिर जताततै बन्द सहरका भित्ताहरु, रेलिङ र सडकहरुमा जताततै देख्न सकिन्छ । के तपाईंले त्यस्तो देख्नुभएको छैन ?

सहरका पेट्रोल पम्पहरु छेउको बाटो हिँड्दै गर्दा सूचना झुन्डिएको हुन्छ ‘पेट्रोल छैन ।’ खानेपानीको धाराको टुटीमा खिया लागिरहेको वर्षौं भयो । बिजुलीको बत्तीको सन्दर्भ पनि त्यस्तै हो । यस्ता अभाव र अपर्याप्तताका थुपै्र कथाहरु हाम्रो जीवनको दैनिकी हो । अर्थात् सहर घोषित/अघोषित हरेक समय बन्दकै चपेटामा मौन छ । बन्दमा सडकको मौनता देख्दा लाग्छ, हामी सडकजस्तै निर्जीव भइसकेका छौं । त्यसैले ‘बन्द’लाई हामी मनमनै त विरोध गरौंला तर व्यवहारमा हामी त्यसविरुद्ध उभिन सक्दैनौं । मौनतामा टेकेर बरु गर्मीसँग मितेरी लाउँदै असिनपसिन हुँदै गन्तव्य नाप्छौं हामी । वा बेलाबेलामा आइरहने ुबन्दुलाई बिदाको रुपमा स्विकार्दै घरमै पिकनिक मनाउँछौं । तास खेल्छौं । रक्सी खान्छौं । वा मस्तसँग सुत्छौं । यी पंक्ति लेखिरहँदा दिउँसै सुत्ने सहरको परिकल्पनाले मन हल्लिरहेको छ बेस्सरी ।

जब सहर दिउँसै सुत्छ तब सहर र सहरवासीको सपना, देश र देशवासीको सपना ‘संविधानसभाले संविधान बनाउने’ कथाजस्तै अलपत्र पर्छ । संविधानसभा बन्द सहरजस्तै वर्षौं बन्द । शान्ति प्रकि्रयाको गतिमा पनि त्यस्तै break लाग्यो । समाजका अरु थुपै्र क्षेत्रमा पनि स्थिति त्यस्तै छ । दिमागभरि, आँखाभरि बन्द नै बन्द मात्र पो देखिन थाल्यो । यता बन्द, उता बन्द, त्यता बन्द, जताततै बन्द ।

बन्दैबन्दको निरन्तर सांघातिक प्रहारले टाउको फुट्नै लागिसकेको छ । यतिबेला कलम छोडेर हातहरु टाउकोको नियन्त्रणका लागि सकि्रय हुँदै छ । ओहो ! यो बन्दको साम्रज्यले कतिसम्म गरिसकेको रहेछ बल्ल ज्ञात हुँदै छ । यो त्यस्तै टाउको हो जसले ‘बन्द’ को प्रतिपादन गर् यो । तर टाउकोलाई नै असहँ हुने ‘बन्द’को साम्राज्यविरुद्ध गीत गाउन मन लागेको छ, शान्तिको संगीत भर्दै ।

‘अग्रगमन’को लागि भन्दै वर्षौंदेखि भइरहेको ‘बन्द’ले सहरलाई मात्र होइन सभ्यतालाई पनि बन्द गरिरहेको छ । ‘बन्द सभ्यताको युग’ निर्माण भइरहेको छ यहाँ । यो यात्रामा हामी आफ्नो अनियन्त्रित टाउको समात्ने स्थितिमा मात्र पुग्ने रहेछौं । ओहो ! अति नै भयो । म दुवै हातले ‘बन्द’को कब्जा र आक्रमणमा परेको आफ्नै टाउको समात्दै छु बेस्सरी ।

Originally published at Upatyaka.com on May 24, 2011. Shared here with permission.

Leave a comment