लाहुरेको पत्र (लघुकथा)

पर पर सम्म हरियाली नदेखिने बालुवे सडकमा ल्याम्पपोष्टको बत्ती मुनि एउटा सिपाही बल गरेर अक्षरहरू खुट्याउन खोज्दै थियो । उ भर्खर प्रौढ शिक्षा सकेकी आफ्नी श्रीमतीका हस्तलिपीहरूलाई बत्तीको वरपर घुम्ने कीराहरूको छायाँले सजीव गराएको आभास गर्दै थियो। शब्द शब्द उडेर उसलाई चुम्दै थिए, छर्रा लागेका घाउहरूबाट जहर निकाल्दै, अमृत भर्दै थिए।
प्राण प्यारा,

हामी सबै सकुशल छौँ र हजुरको देहलाई पनि आराम होला भनि उनै पशुपतिनाथ सँग दिनरात प्रार्थना गर्दै बसेकी छु। छोरी कामनाले पनि क-ख-रा पढ्ने भैसकी । बीस सम्म त मुखारी गन्छे। सँधै सुत्ने बेला हजुरको तस्विर सिरानी राखेर सुत्छे। गाउँ तिर पनि सबै कुशल छन्। बिजुली आएर जताततै उज्यालो छ। शहरमा भने साँझ बिहान काट्टी काट्टी आउँछ रे, यहाँ भने सँधै आइरहन्छ। कतार कि कता कम्पनीमा बिदा लिएर फर्केका जीवन जेठाजुले टीभी ल्याउनुभा’छ। अस्ति म जाँदा शहरमा नेताहरूले झोला खोसेको देखाउँदै थियो। तपाईँले देखेको भए “पाखन्डिहरू!” भन्दै हाँस्नुहुन्थ्यो होला, म त्यै सम्झेर खुसुक्क हासेँ। जीवन जेठाजु भने “बेलैमा यिनको सङ छोडेर ठीक गरिएछ” भन्दै हुनुहुन्थ्यो । वहाँलाई पहिला जस्तो लुकि-लुकि हिँड्नु पर्ने पनि छैन अहिले त। कहिले त लाग्छ तपाईँ पनि फौजमा नभएर वहाँ जस्तै कम्पनी गएको भए बेला बेला मा आउनु हुन्थ्यो होला। कहिले आउनुहुन्छ ? हवस् त धेरै लेख्न आँखाले दिएन। न्यानो माया सहित जवाफको प्रतीक्षामा ।

तपाईँकी अर्धाङ्गिनी,
शान्ता ।
उसले पत्र पट्याउँदै गर्दा अगाडि जोडको आवाज आयो। केही जवानहरू दौडँदै सोही बाटो फर्के। उसलाई घाइते भनी सहयोगको लागी उपचार टोली बोलाएर अगाडि बढेको उसको प्लाटुन दुस्मनको एम्बुसमा परेछ । यत्तिकैमा सहयोग टोली पनि आइपुग्यो र उसलाई एम्बुलेन्समा चढाइ सबै आफ्नो बेस तर्फ रवाना भए।

By Rabindra Rijal. Originally published at RabindraRijal.com, 2010. Used with permission.

Leave a comment