‘म त लालीगुराँस भएछु…’

जतिजति उक्लिदै छौं उतिउति चिसो बढ्दैछ । तर सहयात्रीको मन बेस्सरी न्यानो हुन थालिसकेको छ । दामन नपुग्दै लालीगुराँस नदेख्दै सम्भवतः सबैको अनुहारमा ‘लालीगुराँस अनुभूति’फुल्न थालिसकेको छ ।

अघिल्लो दिनदेखि नै दामन दर्शनको लोभ लागिसकेको थियो । काठमाडौंबाट चार घन्टा सडक दुरीमा रहेर पनि त्यहाँ पुग्ने संयोग जुरेको थिएन यसअघि । दामन जानुअघि काठमाडौं छोड्न ढिलो भइसकेको थियो । दामन पुगेर काठमाडौं फर्कन ढिलो होला भनेर दामन जाने कि अर्को पिकनिक स्पट रोज्ने सहयात्रीबीच यात्राअघि नै छलफल सुरु भयो । तर दामन निर्विकल्प उभियो । र, हामीलाई दामनले तानेरै छाड्यो ।

जाडो महिनामा जब पानी पर्छ ललितपुरको फूलचोकी र मकवानपुरको दामन हिउँ दर्शनका लागि जानैपर्ने ‘पि्रय स्पट’ भइहाल्छ । तर यतिबेला हामी हिउँ बिनाको दामन जादैछौं । यद्यपि यो लालीगुरास र सुनगाभाको सिजन हो । काफलको सिजन पनि यही हो । खासगरी दामनमा गएर लालीगुराससँग रमाउने इच्छा बढ्दैछ बेस्सरी ।

भूगोलबाट मात्र होइन, मनबाट पनि टाढिदै छ काठमाडांै । मनभरि दामन छ दामनको लालीगुराँस छ । थानकोट छोडेपछि अर्कै स्वच्छ वायुमण्डल । अर्कै आकास । अर्कै घाम । काठमाडौंको वातावरणीय दिकदारी यतिबेला हामीबाट हराइसकेको छ । डाँडा पाखा र पखेराको बाटो हुँदै हामी नौबिसेबाट दामन ुरुटुमा उक्लिसकेका छौं ।

जतिजति उक्लिदै छौं उतिउति चिसो बढ्दैछ । तर सहयात्रीको मन बेस्सरी न्यानो हुन थालिसकेको छ । दामन नपुग्दै लालीगुराँस नदेख्दै सम्भवतः सबैको अनुहारमा ‘लालीगुराँस अनुभूति’फुल्न थालिसकेको छ ।

…………

दामन पुग्नुअघि पालुङ आउँदोरहेछ । पहाडको उचाइमा अवस्थित त्यो स्थान सानोतिनो उपत्यका नै रहेछ । यतिबेला गराभरिका आलुका बोटहरुले हामीलाई नै स्वागत त गरिरहेका थिएनन् ? त्यस्तै लाग्दैछ । आलुको बहुआयामिक चरित्र मनमा अनि स्वाद जिब्रोमा गाढा हुँदैछ । बसको झ्यालबाट देखेको/हेरेको पालुङको आलुबारी यी पंक्ति लेखिरहँदा झन् सुन्दर बनेर सम्झनामा आइरहेछ ।

दामन पुग्नुअघि एकछिन् पालुङ प्रेममा हराउन मन लाग्यो । सौन्दर्यले कम्तीमा पनि ‘आहा!’ जन्माउँछ । मैले मनमनै भनें आहा! पालुङ ।

…………

पालुङ छोडेर दामन आउनै लाग्दा बाटो छेउछाउमा लालीगुराँस देखिन थाल्यो । अनि त के चाहिन्थ्यो ? सँगै सिटमा बसेका सहयात्री एक अर्कालाई देखाउँदै भन्न थालिहाले उता हेर्नुस गुराँस यता हेर्नुस त ढकमकै गुराँस ।

राजधानी काठमाडौं छोडेर गुरासको राजधानी दामन आइपुगिरहँदा गाडीको क्यासेटमा के गीत बजिरहेको थियो क्रन्नि, तर मेरो मनमा भने सविन राई गाइरहेका थिए ‘गुराँसको फेदमुनि सम्झनाको छायाँ……।’

हामी यतिबेला एउटा थुम्कोमा आइपुगेका छौं । सडकका दुवैतिर हरियोबाहेक केही छैन । मीठो चिसोले मनसम्म छोएको छ । माथि आकासबाट पनि प्रकृतिले शान्ति छरिरहेको छ । यही आसपासको स्थानमा पिकनिक मनाउने स्वतस्फूर्त निर्णय भयो । वरिपरि लालीगुराँस बीचमा पिकनिक स्पट । आहा ! यो अद्धितीय रमाइलोले मन यसै फुल्न थाल्यो गुराँसजस्तै । मनैमन स्वर सम्राट नारायणगोपाल बज्न थाले,

‘म त लालीगुरास भएछु

मनैभर फुलिदिन्छु वनैभरि फुलिदिन्छु ।’

दामनको गुराँसवनमा साथीहरुले काफल खाए । कतिले ‘काफल रस’ पनि खाए । त्यसपछि त के चाहिन्थ्यो एउटा प्राकृतिक सांगीतिक कार्यक्रम सुरु भइहाल्यो । नाच्नेहरु त नाचिनै रहेका थिए नाच्न नजान्नेहरु पनि बेस्सरी नाच्न थाले । यो यात्रामा गुरुजीले गाडीमात्र चलाएनन् मादल पनि बजाए गीत पनि गाए ।

यात्रामा नरमाइलो कति बेला पनि भएन । तर फेरि उही काठमाडौं आउनुपथ्र्यो । चार गेरमा दौडिरहेको रमाइलोलाई सँगै लिएर फर्किने मेसो गर्दैगर्दा हामीले त्यो स्थानलाई त्यही छोड्नुपथ्र्यो । तर सम्झनामा हनुमानले सुमेरु उठाएझैं दामन र जंगलभरिको गुराँस बोकी ल्यायौं । तर त्यतिले के मान्थ्यो र मन ? मैले त झोलाभरि गुराँस पनि बोकेँ । यो त फर्कने बेलाको कुरा हो । तर गुराँसको फेदमुनि बस्दा मैले त्यहाँबाट केही पि्रय मान्छेलाई गुराँस समर्पण गरेँ मोवाइलबाटै । तिनीहरु मेरा लागि पि्रय त छँदै थिए आदरणीय पनि थिए । तर तिनका बारे यहाँ यति मात्र ।

…………..

पहाडी बाटोबाट नौविसे झर्दै गर्दा साँझ रातमा बदलिदै थियो । नौविसेबाट थानकोटतिर उकालो लाग्दा हामीमा राजधानी आउनुको रमाइलोभन्दा दामन छोड्नुको खल्लोपन बाक्लिदै थियो । बिजुली शहर काठमाडौं आइपुग्दा रातको १० नाघिसकेको थियो । र काठमाडौं अध्याँरो ओढेर मौन थियो ।

Ashok Silwal, 2011. Originally published at Upatyaka.com, shared with permission.


			

Leave a comment