ब्लगिङ्, पत्रकारिता र आचारसंहिता

Guragain, Binaya on July 19, 2011

न्यू मिडिया, सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया । बिश्वमै चलिरहेको बहसले हामीलाई पनि छोएको छ । ब्लग, ट्वीटर, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरु न्यू मिडियाका लोकप्रीय माध्यम बन्दैछन् । केही दिन अगाडि प्रेस काउन्सील नेपालले माइसंसारडटकम नामक लोकप्रीय ब्लगलाई चिठ्ठी लेखेपछि नयाँ शिराबाट बहस शुरु भएको छ के ब्लगिङ् पत्रकारिता हो त? परम्परागत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आचारसंहिताले न्यू मिडियालाई पनि समेट्छ त? पत्रकारहरुले आचारसंहिता लागु गरे नगरेको अनुगमन नै गर्न पनि चुनौती मोलिरहेको नेपाल प्रेस काउन्सिलले ब्रोडकास्टीङ र अनलाईनलाई समेट्न नसकिरहेको अबस्थामा ब्लगिङ्को आचारसंहिता लिएर प्रश्न गर्न सक्ला? यसलाई आफनो कार्यक्षेत्रमा ल्याउन सक्ला? असंगठित र कानूनी दायरामा नआईकन व्यक्तिले वेवसाइटमार्फत सूचना, जानकारी, साहित्यीक सिर्जना, फोटो, भिडियो मार्फत सञ्चालन गरिरहेका ब्लगिङ्लाई आचारसंहिताको परिधिमा ल्याउन काउन्सीललाई सजिलो छैन, तर अप्ठ्यारो छ भने उम्किन मिल्ने ठाउँपनि छैन । तर अहिलेको सवाल हो के गर्ने? यो बहससँग इन्टरनेटको उपलब्धता तथा त्यसको उपयोग पनि जोडिएर आउँछ । किनभने ब्लगिङ् त्यतिबेलामात्र सम्भव छ जतिबेला प्रयोगकर्ताको पहुँच इन्टनेटमा हुन्छ । किनभने ब्लग (blog)नेको वेवसाइट हो यो इन्टरनेटमा शुक्क सहित र निशुल्क दुवै रुपमा उपलब्ध छ ।

 

इन्टरनेटमा अथाह सूचना भण्डार छ । त्यसलाई उपयोग गर्नमात्र जानेको खण्डमा पनि सूचना अधिकारबाट कोही पछि पर्दैन । सूचनाले शक्ति आर्जन गर्न सघाउँछ । इन्टरनेटमा उपलब्ध सूचनाबाट फाइदा लिनु भनेको शक्तिशाली हुनुपनि हो । इन्टरनेटमा उपलब्ध सूचनाहरुबाट फाइदा लिने सुविधाबाहेक आफुसँग भएका कुनै पनि सूचना, जानकारी, तस्विर इन्टरनेटको अथाह र निशुल्क (थोरै) स्थानमा भण्डारण गर्न पनि त्यत्तिकै सुबिधा छ । यही सुबिधाको फाइदा स्वरुप अहिले जो कोहीले जुनसुकै बेला इन्टरनेटमा खाता खोलेर आफुसँग भएका सूचना, जानकारी, फोटो, भिडियो भण्डारण गर्न र व्यापक बनाउन सकेकाछन् । यो व्यापकताको फाइदा लिनेहरुमा सबभन्दा अगाडि छन्, ब्लगरहरु । के ब्लगर पत्रकार हो? के हो त यसको उत्तर? कसैले भन्छन् ब्लगर पत्रकार हो । हैन भन्नेहरु पनि छन् । हो भन्नेकुरालाई मान्नेहरु भन्छन्, ब्लगर त्यतिबेला पत्रकार हो जतिबेला उसले अरु पत्रकारले जस्तै समाचारमुलक बिषयहरुलाई आफ्नो ब्लगमार्फत अद्यावधिक गर्छ । ब्लगर पत्रकार हैन भन्नेहरुको अनुसार आफ्ना भावना, साहित्यीक सिर्जना, फोटो, भिडियो आफ्नो सोखको रुपमा ब्लगमा राख्ने ब्लगर पत्रकार हैन । यी दुवै तर्क सही हुन् । तर प्रश्न उठ्छ, ब्लगमा राखिएको कुनै पनि सूचना गलत छ, कसैको मानहानी गर्छ, समाजमा व्यापक नकारात्मक प्रभाव पार्छ तर त्यो समाचार हैन, बिचारमात्र हो, ब्लगरको भावनामात्र हो । यस्तो अबस्थामा कानूनी उपचार के हुन्छ त? नेपाल प्रेस काउन्सीलले पत्र लेख्ने र कार्वाही गर्ने? कार्वाही गर्न सजिलो छैन किनभने काउन्सीलको अहिलको कार्यक्षेत्रले ब्लगलाई समेटदैन । त्यसोभए बिद्युतीय कारोवार ऐन अन्तगर्त कार्वाही होला अथवा के होला? तमाम प्रश्नहरु निरुत्तर छन् । ब्लग मार्फत सार्वजनिक हुने कुनै पनि सूचना जानकारीको प्रभाव परम्परागत माध्यमको भन्दा शक्तिशाी हुन्छ । अन्तरक्रिया, तत्काल अद्यावधिकता, सिर्जनानात्मक प्रस्तुती अनि सूचनाका उपभोक्ताबाटै समाचार वा सूचनाको सिर्जना, यसैकारण परम्परागत माध्यमका लागि चुनौतीपुर्ण बन्दैछ ब्लगिङ ।

 

ब्लगलाई जसरी पनि प्रयोग गर्न सकिन्छ जस्तै समाचार लेखेर, अद्यावधिक गरेर, फोटो, भिडियो अपलोड गरेर, बिचार सिर्जना गरेर । कसरी उपयोग गर्ने भन्ने कुरा उपभोक्ताको विवेकमा भरपर्छ किनकी यसको लागि पुर्वस्विकृती चाहिदैन । नियमनकारी निकायमा दर्ता गर्नुपर्दैन । इन्टरनेटमा खाता खोलेमात्र पुग्छ । ब्लगमार्फत सार्वजनिक कुनै पनि बिषयको पहुँच व्यापक छ । त्यहाँ पुगेपछि कुनैपनि कुरा गोप्य हुनै सक्दैन । तत्कालै व्यापक उपभोक्ताको नजरमा ती सामग्री एकैसाथ पुग्छन् । यसरी सार्वजनिकहुने सूचना, बिचार, भावना, तस्वीर, श्रब्यदृष्यले अवश्य सार्वजनिक चासो राख्छन् । यहि बिशेषताका कारण ब्लगमा उपलब्ध कुनै सामग्रीले कसैलाई लान्छाना, अभियोग, आरोप लगाएको, सूचना गलत भएको खण्डमा, बिचारहरुलाई तोडमरोड गरेर संम्पेशित गरेको पाइएमा उत्पन्न हुने क्षतिको जिम्मेवारी कसले लिने? नैतिकताको आधारमा कसैले जिम्मेवारीबोध नगरेको खण्डमा  सम्बन्धित ब्लगलाई जिम्मेवार कसरी तुल्याउने? यसका लागि केही न केही कानूनी उपचारको बाटो खोज्नु बुद्धिमानी हुन्छ । त्यस्तो कानूनीबाटोको शुरुवात ब्लगरहरु आफ्नै पहलबाट गर्नु जरुरी भैसकेको छ । यस्तो पहलको परिणाम ब्लगरहरुको आचारसंहिता निर्माण र कडाइका साथ त्यसको पालना हुनसक्छ । ब्लगको सार्वजननिकिकरणसँग स्वत बुझ्नु पर्ने हुन्छ की, सूचना सहि हुनुपर्छ, बिचार मर्यादित हुनैपर्छ, तथ्यांकलाई बङयाउन पाइदैन, कुनै पनि घटना तथा बिषयको अतिशयोक्तिपुर्ण बर्णन क्षम्य हुन सक्दैन ।

 

ब्लग अभिव्यक्ति स्वतन्त्रताको लागि उपयुक्त स्थान हो त्यसैले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा ध्यानदिनुपर्ने आधारभुत कुराहरु ब्लगिङमा पनि लागुहुनुपर्छ । विस्वसनीयता, स्रोतको उपयोगजस्तो संवेदनशील सवालहरु परम्परागत माध्यममा कार्यरत पत्रकारहरुमामात्र नभै ब्लगरहरुमा पनि लागू हुनुपर्छ । प्रेस काउन्सील नेपालको हालको अधिकारक्षेत्रले यो सवाल समेट्दैन भनेर काउन्सीललाई गालि गर्ने कुरा एकठाउँमा सही होला तर यसो गरेर ब्लगरहरुले आफ्नो सामाजिक दायित्वबाट बिमुख हुन नमिल्ला की? नेपालमा अहिले असंगठित तथ्यांक अनुसार सातसयको हाराहारीमा ब्लगर छन् । ब्लगर हुन कहि कतै आवद्ध हुनुनपर्ने, सदस्यता नचाहिने, योग्यता नचाहिने, दर्ता गर्नुनपर्नै, मात्र इन्टरनेटमा साक्षर र पहुँच भएमात्र पुग्ने भएकोले इन्टरनेटको पहुँच र लोकप्रीयतासँग ब्लगरको संख्या हरेक दिन बढ्न सक्छ । इन्टरनेटको पहुँच बढिरेको अबस्थामा आउनेदिनमा चुनौती रहित हुनेछैन ब्लगिङ् । त्यसैले समयसान्दर्भिक यस्तो चुनौतीलाई सामना गर्ने शुरुवाती प्रयास ब्लगरहरुको आचारसंहिता निर्माणबाट गरौ । नेपाल प्रेस काउन्सील यसका लागि सहयोग गर्न तत्पर हुनुपर्छ, पत्रकार महासंघले पनि यसलाई किनारा लगाउनका लागि सार्थक प्रयास शुरु गर्न ढिलो गर्नुहुदैन । तर सबभन्दा पहिलो पहल ब्लगरहरुबाटै हुनुपर्छ । आरोप, प्रत्यारोपभन्दा पनि भुमिकाको खोजी र सही उपयोगले सार्थक परिणाम निकाल्छ । बिज्ञ ब्लगर साथीहरुलाई भन्नै पर्दैन ।

Originally published at MeroReport.net. Shared here with permission.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s